चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     ११ भदौ २०७९ मा प्रकाशित


पोखरा । देशका केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

आज बिहान लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।