पोखरा पर्यटन परिषदमा पदाधिकारी चयनः संस्थापन संस्थाहरुकै वर्चस्व

-


     मर्दी न्युज    
     १२ भदौ २०७९ मा प्रकाशित


पोखरा पर्यटन परिषदको गत विहिवार सम्पन्न अधिवेशनले पोमनारायण श्रेष्ठलाई अध्यक्ष निर्वाचित गराए यता आज शुक्रवार अन्य पदाधिकारी चयन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

हाल सम्मको अधिवेशनबाट निर्वाचित अध्यक्षहरुमा टान पोखरा बाट ३, रेवान पोखराबाट ३, होटल संघबाट २, नाट्टा गण्डकीबाट २ र एगा पोखराबाट १ रहेका छन् ।

परिषदको विधान अन्तरगत अधिवेशनमा अध्यक्ष पदका लागि र पद नखुलाई ६ सदस्यहरु निर्वाचन हुने र ३ सदस्य मनोनित तथा निवर्तमान अध्यक्ष सदस्य गरी ११ सदस्यीय रहने व्यवस्था रहेको छ ।

आज बसेको वैठकबाट प्रथम उपाध्यक्षमा नेपाल हवाई खेलकुदबाट कृष्ण प्रसाद भण्डारी, द्धितिय उपाध्यक्षमा भिटोफ गण्डकीबाट तारानाथ पहारी, महासचिवमा नाट्टा गण्डकी प्रदेशबाट संञ्जयकान्त सिग्देल, सचिवमा टान पोखराबाट हरि भुजेल, कोषाध्यक्षमा रेवान पोखराबाट चौवहादुर गुरुङ र सह कोषाध्यक्षमा नेपाल पर्यटक यातायात ब्यवसायी संघ गण्डकी प्रदेशबाट बबरजंग गुरुङ चयन भएका छन् ।

त्यसै गरि सदस्यहरुमा टेसा पोखराबाट कृष्ण प्रसाद काफ्ले, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशबाट जीवनराज सापकोटा र नारा गण्डकी प्रदेशबाट निमबहादुर मगर चयन भएका छन् ।

वि.सं. २०५२ सालबाट पोखरा पर्यटन प्रर्वद्धन समितिको रुपमा कार्य गर्दै आएको यस संस्था वि.सं. २०५९ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा पोखरा पर्यटन परिषदको नाममा दर्ता भएको थियो जसको तदर्थ समितिको अध्यक्ष थिए पोखरा उद्योग वाणिज्य संघका अशोक पालिखे ।

त्यसयता अध्यक्ष हुनेमा टान पोखराबाट डम्बर बहादुर केसि, रेवान पोखराबाट गणेश बहादुर भट्टराई, होटल संघबाट सुन्दर कुमार श्रेष्ठ, होटल संघबाटै वच्चुराम तिवारी, टान पोखराबाट टिकाराम सापकोटा, रेवान पोखराबाट सुर्यबहादुर भुजेल, टान पोखराबाट सोमबहादुर थापा, नाट्टा पोखरावाट केदारनाथ शर्मा, एगा पोखराबाट चिरञ्जिवी पोख्रेल र रेवान पोखराबाट गोपीबहादुर भट्टराई ।

परिषदमा आवद्ध रहेका १३ वटा संस्था मध्ये हालै संसोधन विधान वाट पोखरा उद्योग वाणिज्य संघ संरक्षक रहने र अन्य १२ वटा संस्थाका अध्यक्षहरु स्वतः पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

हाल आवद्ध संस्थाहरुमा पश्चिमाञ्चल होटल संघ, टान पोखरा, नाट्टा गण्डकी प्रदेश, रेवान पोखरा, पोखरेली ट्याक्सी सेवा प्रा.लि, टेसा पोखरा, एगा पोखरा, नेपाल हवाई खेलकुद संस्था, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश, नेपाल पर्यटन यातायात ब्यवसायी संघ गण्डकी प्रदेश, भिटोफ नेपाल गण्डकी प्रदेश र नारा गण्डकी प्रदेश रहेका छन् ।