नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीब्र

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित


पोखरा । नेपाल लोकतान्त्रिक तमु संघले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको छ ।

“तमु जाति, भाषा र सँस्कृति, हाम्रो पहिचान,राष्ट्रको सम्पत्ति” नारासहित यही भदौ २८ र २९ गते पोखरामा सम्पन्न हुन गइरहेको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी स्वरुप आज विभिन्न उपसमितिहरु गठन गरिएको हो ।

तयारी स्वरूप सोमवार बसेको आयोजक कमिटीको बैठकले विभिन्न निर्णयसहित १० वटा उपसमिति गठन गरेको छ ।

जसमा आर्थिक समिति, झाँकी तथा सांस्कृतिक, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, अतिथि सत्कार, मञ्च व्यवस्थापन, खाना तथा आवास, यातायात व्यवस्थापन, स्वयम् सेवक र प्राथमिक उपचार समिति छन् ।

आयोजक समितिका संयोजक बेदबहादुर गुरुङको अध्यक्षता तथा नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक अध्यक्षसमेत रहेका नेकपा(एमाले) स्थायी समिति सदस्य किरण गुरुङको विशेष उपस्थितिमा तयारी बैठक बसेको थियो । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवम कास्की इञ्चार्ज कृष्ण थापा, एमाले केन्द्रिय सल्लाहकार एवम लोकतान्त्रिक तमु संघका सल्लाहकार गणेशमान गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, पोखरा महानगरपालिका अध्यक्ष दिलिप न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लोकतान्त्रिक तमु संघ नेकपा एमाले निकट जनवर्गिय संगठन हो । सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।