पोखरा । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बाग्लुङ खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पर्वतको कुश्मा नगरपालिका ८ दोबिलास्थित सुन्दरे खोलामा सडक अवरुद्ध बनेको हो ।
सुन्दरे खोलामा आएको बाढि सहितको पहिरोले सडकमा ठुला ठुला ढुंगा ल्याउँदा सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरिएको र केही समयमा खुल्ने बताइएको छ । यस्तै पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिवाट झरेको पहिरोका कारण गएरातीदेखिनै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ठूला ढुंगाहरु सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । त्यस्तै सोहि स्थान भन्दा केहि अगाडि मोदीखेतमा पनि सडकमा ढुंगा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुंगा पन्छाएर सडक खुलाईने बताइएको छ ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट अन्य छुटेका सवारीसाधनहरु आम्वोटमा र अन्यत्रवाट धौलागिरिका चार जिल्लाका लागि आएका सवारीसाधन र यात्रुहरु पातीचौरमा अलपत्र बनेका छन् ।