
काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिइरहेको छ ।
महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिइरहेको छ ।
सुरुवाती बयानमा राणाले आफूले संविधान र कानूनभन्दा बाहिर गएर कुनै कामकारबाही नगरेको दाबी गरे । उनले आफूपछिको वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग लगाएको पनि जिकिर गरे ।
बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको समेत बताए ।
उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’
अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकाङ्क्षा रहेको जबराको भनाइ छ ।
सांसदहरुको एक एक प्रश्नको जवाफ दिइरहेका प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग पनि जोडेका छन् । उनले कारबाही गर्ने भए पाँचै जनामाथि गर्नुपर्ने भन्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण माग गरेका छन् ।
उनले आफूबाहेक प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको पनि स्मरण गरे ।
गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्वनमा भएको थियो ।