पोखरा । देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउउन विभागले सचेत गराएको छ ।