पोखरा महानगरका १०० दिन : सार्वजनिक जग्गाको विवाद समाधानदेखि वृक्षारोपणसम्म

-


     मर्दी न्युज    
     १८ भदौ २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले आफ्ना १०० दिनका उपलब्धिहरू सार्वजनिक गरेको छ ।

शनिबार पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले आफ्ना कामहरूको फेहरिस्त सुनाएको हो ।

आफ्ना कामहरूमा ३७५ वटा स्थायी प्रकृतिका फुलका बिरुवाको वृक्षारोपण, क्षमता अभिवृद्धिका लागी लिडरसिप क्याम्प, विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बसपार्कको स्तरोन्नति लगायत रहेका छन् ।

मेयर आचार्यका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएका छन् भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ ।

यस्तै जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत/उपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएको उनले बताए ।

साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।

कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सञ्चालन गरेका थिए।