काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिखित जवाफ लिने भएको छ ।
समितिले आज एक घण्टा मात्रै बयान लिएको छ ।
बयानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले समय धेरै लाग्ने भएकाले अब लिखित जवाफ लिइने र त्यसकै आधारमा प्रतिप्रश्न गरिने जानकारी दिए ।
आइतबार जबरासँग ५ वटा प्रश्न सोधिएको विश्वकर्माले जानकारी दिए । जबराले एक घण्टामै पाँचै वटा प्रश्नको उत्तर दिएका थिए ।
विश्वकर्माका अनुसार अबको बैठक भदौ २५ गते बोलाइएको छ । आगामी बैठकमा समितिले तयार गरेका सबै प्रश्न एकमुष्ठ सोधिनेछ । ‘बयान लम्बिँदा धेरै आशंकाहरु उठ्नु स्वभाविक हो,’ उनले भने, ‘विधि परिवर्तन गर्दै अब एकमुष्ठ प्रश्न सोधिनेछन् । त्यसको उत्तर उहाँले दिनुहुनेछ ।’
आइतबारको बैठकमा पूर्वडीआईजी रञ्जन कोइरालाको ज्यानमुद्दामा कैद समय घटाइएको लगायतको प्रश्न गरिएको थियो ।
जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।