प्रदेश–१ देखि गण्डकीसम्म बिहानैदेखि वर्षा, यातायात सेवा प्रभावित हुन सक्ने

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित


पोखरा । देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।