सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

-


     मर्दी न्युज    
     २२ भदौ २०७९ मा प्रकाशित


काठमार्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।

सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।


बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ ।

अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी सन्दीपलाई मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए । केन्याबाट नेपाली टोली भने आज नेपाल फर्कंदै छ ।