मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन: वरिष्ठ नेता पौडेल

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताउनुभएको छ ।

तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् । पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पु¥याउन आग्रह गर्नुभएको छ ।

गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ ।