पोखरा । नेपाल भारत मैत्री संघले आठौं केन्द्रीय मैत्री सभा गर्ने भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले असोज १ गते पोखरा सभागृहमा सभा हुने जनाइएको छ ।
पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकास प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष शैलेन्द्रमोहन झाले बताए ।
कार्यवाहक झाले उक्त सभाका लागि भारतीय राजदूतको टिम नै पोखरा आउने कार्यक्रम रहेको सुनाए । संघले नेपाल र भारत एकअर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी दिए ।
उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताए । उनले दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने गरेको बताए ।
सभामा ३ सय भन्दा धेरैको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यतालिका रहेको संघले जनाएको छ ।