वन्यजन्तु अनुसन्धान विधि तालिम सुरु

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित


स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिका २, राङभाङ स्थित भैसेगौडा सामुदायिक होमस्टेमा ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ सुरु भएको छ ।

मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत पर्ने यो स्थानमा ‘प्रकृतिका साथीहरू’ संस्थाको आयोजनामा मंगलबारबाट तालिम सुरू भएको हो । तालिम असोज १५ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा विभिन्न जिल्ला र वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी गरी १५ जनाको सहभागिता रहेको होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

तालिममा सहभागीहरूले चरा, स्तनधारी, पुतलीहरूको पहिचान, तिनको अनुसन्धान विधिको बारेमा व्यवहारिक ज्ञान प्राप्त गर्नेछन् । यसका साथै क्यामेरा ट्र्याप लगाउने तरिका, अनुसन्धानमा तथ्याङ्कहरूको विश्लेषण आदिबारे पनि सिकाइने छ ।

मिलेनियम पदमार्गलाई प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक, ऐतिहासिक सम्पदाको समिश्रणसहितको साहसिक गतिविधि अनुभवका लागि नेपालमा मध्यपहाडी क्षेत्रको एक उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा लिइन्छ । यो पदमार्ग तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको छ ।