
पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ ।
नगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका खेलकूद विकास समितिको कार्यालय उद्घाटन गर्दै पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेल सामग्री वितरण गरेको हो ।
भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म खेल सामग्री वितरण गरिएको छ ।
खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा आतिथ्यता सत्कारमा कमी हुन नदिने व्यक्त गर्दै पोखरेली खेलाडीले धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे ।
‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्योसँगै पदक पनि धेरै जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत गर्न आवश्यक छ ।’
नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए ।
उनले राम्रो भयो भने त्यसको जस् हामीले नै पाउने र केही नराम्रो भए पोखरा र हाम्रो बद्नाम हुने बताउँदै
खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन आग्रह गरे ।
पोखरा महानगरले यस वर्ष बजेट पनि एक करोडबाट बृद्वि गरी दुई करोड पुर्याएको मेयर आचार्यले जानकारी दिए ।
खेलकुद विकास समितिको कार्यालय यसअघि ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
