पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आहिले बिहान प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । प्रदेश–१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको विभागले जनाएको छ ।