संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्नेः अध्यक्ष ओली

-


     मर्दी न्युज    
     असाेज १ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्दै जनतालाई साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखेका हुन्। ‍

अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाए । उनले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने बताए ।

ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले यसको फैसला जनता गर्ने बताए। उनले आगामी निर्वाचनमा एमालेले हार्न नहुने सन्देशसमेत दिए।

संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान–२०७२’जारी भएको थियो। एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा आज उपत्यकामा वाकथन (पदयात्रा)गरेर मनाएको हो।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं तत्कालीन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरूको उपस्थिति थियो ।