
पोखरा । अहिले देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।