उपत्यकामा थपिदै चराका नयाँ प्रजाति

-


     मनशान्त घिमिरे    
     असाेज ३ गते २०७९ मा प्रकाशित


मिनी कोशीको रुपमा परिचित मनोहरा खोला क्षेत्रमा फिरन्ते प्रजातिको चरा श्वेत जलरङ्क काठमाण्डौं उपत्यकामा पहिलो पटक अभिलेख गरिएको छ ।

विशेष गरि नेपालका ठूला नदी किनारमा भेटिने यो प्रजाति पंछी अबलोकनका क्रममा हिजो दिउँसो अबलोकनकर्ता शंकर तिवारी र माइकल ग्रुनवेल ले भेटेका थिए । अन्य जलरङ्कको तुलनामा यो निकै फुर्तिलो, अत्याधिक सक्रिय रुपमा दौडने, अचानक रोकिएर हिलोमा खाना खोज्ने स्वभाबको हुन्छ ।

सन् १९७९ को फ्रेवुअरी महिनामा फ्राङ्क लामबेर्ट तथा रिचार्ड ग्रिमेटको टोलीले कोशी ब्यारेजमा नेपालका लागि पहिलो पटक भेटेको यो जलरङ्क भारतीय उपमहाद्धिप मै पहिलो अभिलेख रहेको थियो ।

हाल सम्मका अबलोकनहरु सन् १९९३ मा सुनसरीको कोशी ब्यारेज, सन् २००३ मा चितवनको राप्ती खोला र सन् २०१२ मा बर्दियाको कर्णाली नदीमा भएको नेपालको संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।

बिशेष गरि नेपालमा समुन्द्री सतह देखि २५० मिटरमा देखिएको यो प्रजाति उपत्यकाको यस अभिलेख हाल सम्मकै उच्च स्थानमा भेटिएको प्रमाणित भएको छ ।

फोटोः शंकर तिवारी