जङ्गली याकः शेर्पाले आठ वर्ष पछि हुम्लामा पुनः अभिलेख गर्न सफल

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७९ मा प्रकाशित


फोटो: चुङ्वा शेर्पा

हुम्लाको लिमी उपत्यकाको शाक्य खोला क्षेत्रमा संवेदनशिल दुर्लभ जङ्गली याकको वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले यसै साता चार वटा वयस्क भालेको अभिलेख गरेका छन् ।

कुनै समयमा नेपालबाटै लोप भएको शंका गरिएको यो प्रजाति सन् २०१४ मा नेपाल-तिब्बतको सिमा क्षेत्र लिमी उपत्यकामै प्रकृतिका साथीहरु नामक संस्थाका अनुसन्धानकर्ताहरुको टोलीले प्रमाणसहित अभिलेख गरेका थिए ।

कोभिड-१९ को महामारीले यस क्षेत्रमा आएर फोटोग्राफी गर्ने योजना बल्ल सम्भव भएको तथा खर्चिलो यात्रा र अन्य कठिनाई भन्दा यस सफल उपलब्धिले आफु निकै भाग्यमानी भएको शेर्पाले फोन मार्फत खुशी साटेका थिए ।

फोटो खिच्ने क्रममा याकको आक्रमणबाट झण्डै घाईते भईएन, धन्न भागे पछि टक्कै रोकिएछ, चार हजार ८ सय मिटरको उचाईमा भाग्नु आफैमा अर्को चुनौति भएको शेर्पा बताउँछन् ।

सदरमुकाम सिमिकोटबाट हिडेर करिब एक हप्ता भन्दा बढी समय लाग्ने दुर्गम लिमी उपत्यकामा शेर्पा हेलिकप्टर प्रयोग गरि गत साता पुगेका थिए ।

लिमी उपत्यकामा वन्यजन्तु फोटोग्राफर शेर्पाको टेण्टकाे वासस्थान

नेपाल लगाएत अफ्रिकी मुलुकहरुमा समेत वन्यजन्तुहरुको फोटोग्राफी गर्न पुग्ने शेर्पा नेपालका धेरैजसो संरक्षित क्षेत्र पुगेर दुर्लभ वन्यजन्तुहरुको तस्वीर क्यामरामा कैद गरी सकेका छन् ।

भारतको लद्दाख र तिब्बतका केही क्षेत्रमा सानो संख्यामा पाइने जंगली याक नेपालमा अनुमानित संख्या यति नै छ भनेर कुनै अभिलेख छैन ।