काठमाडौं । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रबार बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन करिब ८ घण्टा छलफल भएको थियो । तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
मधेसमा काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा काँग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ ।
गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट काँग्रेसले नै पाउनुपर्ने अडान राखेको छ भने जसपाले आफ्नो आधार क्षेत्र नै मधेस भएको भन्दै बढी सिट पाउनुपर्नेमा अड्डी कसेको छ ।
यही विवादका कारण गठबन्धनको सिट बाँडफाँटमा समस्या देखिएको बैठकमा सहभागी नेताहरू बताउँछन् ।
सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।