दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्।
गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्।
‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।’
काँग्रेसका नेताहरुलाई पनि व्यवस्थापन गरेर लैजाने बताउँदै अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।
‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ,’ नेता पौडेले भने, ‘गठबन्धनलाई सफल बनाउनुपर्छ, काँग्रेसभित्रका नेताहरूलाई पनि पार्टीले व्यवस्थापन गरेर निर्वाचनमा लैजान्छ ।’
छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराएका थिए ।