पोखरा । ४३ औँ पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।
मंगलवार पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।
कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकहरुलाई खादासहित सम्मान गरे । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बद्ध सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट ओर्लने पहिलाे भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।
त्यस्तै, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवर्धनको बारेमा छलफल गर्ने बताए ।
उनले भने, ‘‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौँ । काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिलाई पोखरा बोलाएका छौँ । कोभिडपछि अब हामी पूर्णरुपमा पर्यटन व्यवसाय सञ्चालन गर्न तयार छौँ । पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौँ ।’’
उनीहरुलाई प्रमाणपत्र प्रदान गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गरेको थियो । अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रिने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिए ।
पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरिएको छ । यसका साथै पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् । नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । साँझ पोखराको लेकसाइडमा मिनी सडक महोत्सवको आयोजना गरिने भएको छ ।