मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

-


     रासस    
     १४ अशोज २०७९ मा प्रकाशित


गण्डकी, १४ असोज । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएको छ । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना आदानप्रदान तथा कदरपत्र वितरण समारोहमा उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिका लागि राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए ।

जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई तीन तहका सरकार निर्माण भएको स्मरण गराउँदै उनले उक्त उपलब्धिलाई टेकेर प्रदेशसभा निर्माण भएको स्पष्ट पारे । जनताले प्रदेश सरकारबाट जुन आशा गरेका थिए त्यो पूरा गर्न सकियो वा सकिएन आत्मसमीक्षा गरेर अघि बढनुपर्नेमा जोड दिँदै उनले भने, “चुनावमा हारजितभन्दा पनि महत्वपूर्ण मुलुक र संविधान हो भन्ने सबैले बुझ्नु अपरिहार्य छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शून्य अवस्थाबाट शुरु भएको प्रदेश सरकारले स्थापनाको पाँच वर्षको अवधिमा कानुन निर्माणसँगै विकास निर्माणको जग बसाल्न सफल भएको बताए । मुलुकमा भएका परिवर्तनसँगै जनताका इच्छा र आकांक्षा पूरा गर्न नसकिए पनि विकास निर्माणका आधार तयार भएको उल्लेख गर्दै उनले कतिपय अधिकार सङ्घले हस्तान्तरण नगर्दा कामले सोचे जस्तो गतिलिन नसकेको बताए । विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, “निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ ।”

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ५९ कानुन निर्माण गरी कार्यान्वयको चरणमा रहेको जानकारी दिए । प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेर औचित्य पुष्टि गरेको बताए ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रसहित उज्यालो प्रदेश, एकघर एक धाराजस्ता जनतासँग जोडिएका कार्यक्रम सञ्चालन गरेर मुलुकमा अब्बल प्रदेश बनेको बताउँदै उनले निर्माण भएका कानुनको कार्यान्वयन तथा समृद्धिका आधारको निरन्तरतामा जोड दिए । कार्यक्रममा पाँच वर्षे सफल कार्यकाल पूरा गर्न सफल गण्डकी प्रदेशसभाका सम्पूर्ण सदस्यलाई कदरपत्र वितरण गरेको थियो ।