
पोखरा । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले अझै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार असोज १८ गते नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै असोज १९ गने टीकाको दिन देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखााका अनुसार असोज २० गते बिहीबार एकादशीको दिनमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज २१ शुक्रबार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आजको मौसम
अहिले बिहान देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राती देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।