नवौँ राष्ट्रिय खेलकुद आजदेखि

-


     मर्दी न्युज    
     असाेज २३ गते २०७९ मा प्रकाशित


पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आजदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आजदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन सुरु भएको हो ।

महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशबीच हुँदैछ । यसैगरी आजै दोस्रो खेल सुदूरपश्चिम र बागमती प्रदेशबीच हुँदैछ । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले केही खेलअघि नै सञ्चालन गर्न लागिएको हो ।