मंगलवार फेवातालको बृहत सरसफाई गरिने

-


     मर्दी न्युज    
     असाेज २३ गते २०७९ मा प्रकाशित


पोखरा । पर्यटकीय राजधानी पोखरामा रहेको फेवातालको बृहत सरसफाई अभियान सुरु गरिने भएको छ । पोखरा महानगरपालिकाले पर्सि मंगलबार बिहान विभिन्न संघसंस्था तथा ३३ सै वडाको सहभागितामा बृहत सरसफाई अभियान सुरु गरिने भएको हो ।

आज आइतबार आयोजित एक कार्यक्रममा फेवातालको ३३ स्थानबाट सरसफाई गरिने मेयर धनराज आचार्यले जानकारी दिए । उनले ३३ स्थानमा फोहोर उठाउने गाडीसमेत सँगै रहने बताए । ‘३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकूदको आयोजना हुँदैछ, यसमा करिब दुई लाख मानिसहरु पोखरा अवलोकन गर्न आउँछन्’ उनले भने, ‘चाडवाडमा घरलाई संगारिए जसरी फेवाताल सफा राख्नु हाम्रो कर्तव्य हो, यो सबैको सहयोगमा सम्पन्न गर्छौं ।’

मेयर आचार्यले अहिले फेवाताल अघोषित ‘डम्पिङ साइट’ भएको बताउँदै सबै पोखरेली मिलेर भावी पुस्ताको लागि पनि फेवाताल जोगाउनुपर्ने बताए । उनले विगतमा फेवातालको सिमाना पामे खोलासम्म रहेको आफूले जानकारी पाएको बताउँदै आगामी दिनमा अध्ययन अनुसन्धान गरी सोहीअनुसार कायम गरिने पनि बताए ।

फेवातालको मापदण्डबारे मेयर आचार्यले हाल अदालतमा विचारधीन अवस्थामा रहेको हुँदा पुरानो संरचनालाई अर्को आदेश नआएसम्म यथावत राखिने र नयाँ संरचना निर्माण नगर्न आग्रह गरे । अदालतको फैसलापछि आदेशअनुसार काम अगाडि बढ्ने समेत उनले जानकारी दिए ।

मेयर आचार्यले हाल भइरहेको ल्याण्डफिल साइटको लागि जग्गा प्राप्त नभएको जानकारी गराउँदै भविष्यमा ल्याण्डफिल नै नचाहिने गरी फोहोर व्यवस्थान गर्न महानगर लागिपरेको जानकारी दिए ।