नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

-


     मर्दी न्युज    
     असाेज २४ गते २०७९ मा प्रकाशित


तस्बिर: खेम गुरुङ

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । पोखरामा आयोजना हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानव अधिकार चोकमा आज बिहान आयोजित एक कार्यक्रमका बीच ट्रफि सार्वजनिक गरेका हुन् । खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणको उपस्थितिमा ट्रफि सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले ट्रफि सार्वजनिक गरे लगत्तै पोखराका विभिन्न स्थलमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । ट्रफिसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सवारी साधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

रंगशाला गेट, अम्मरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्री बजार हुँदै वगरचोक, बागबजार चोक, पुरानो टुडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिर, अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, वाग्लुङ राजमार्ग हुँदै जिरो किमी, हल्लनचोक, बाराही मन्दिर चोकमा पुग्नेछ भने पोखरा महानगरका मेयर धनराज आचार्यले ट्रफि प्रदर्शन गर्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाईएको ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् भने ट्रफ्रीलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफि आफुसँग राख्न पाउनेछ ।