पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ६ हजारभन्दा बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा ६ हजार १५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् । ७ प्रदेशका ३ विभाग टीम (सेना, प्रहरी र शसस्त्र प्रहरी) र एनआरएनएगरि ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
खेलकुदको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै उपराष्ट्रपति नन्दकिशोर पुनले खेलकुदको उद्घाटन गर्ने उनले जानकारी दिए । पोखरा रंगशालामा अपरान्ह ४ बजे सुरु हुने उद्घाटन समारोहमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपासका साथै सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशबाजीसहित विविध मनोरन्जनात्मक कार्यक्रम गरिने बताइएको छ ।
उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने जनाएको छ ।
प्रदेश नं १ को राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।
त्यस्तै प्रतियोगितामा सहभागि ११ टिमहरुको मस्कट सहित मार्च पास, नवौं राष्ट्रिय खेलकुद गीत प्रस्तुती हुनेछ । सातौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा ओलम्पियन गण्डकी प्रदेशका टिकाबहादुर बोगटीले ओलम्पिक फ्लेममा प्रज्वलन् गर्नेछन् ।