पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल खेलको तीनवटै खेलमा विभागीय टिमले जितको छ । पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको लिग चरणको खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् ।
शनिवार भएको एपीएफ र गैर आवासीय नेपाली संघ )एनआरएनए) बीचको पहिलो खेलमा एपीएफले ३–० को सोझो सेटमा सहज जित निकालेको हो । एपीएफले एनआरएनएलाई पहिलो सेट २५–१९ ले पराजित गर्यो भने दोस्रो र तेस्रो क्रमशः २५–१५ र २५–१३ ले पराजित गर्दै समूह ‘सी’ मा पहिलो जितसँगै एपीएफले ३ अंक जोड्यो ।
यस्तै आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई २५–१२, २५–१९ र २५–२३ को सोझो सेटमा जित निकालेर विजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी प्रदेश १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै ३ अंक जोडेको छ ।
यस्तै आजै भएको समूह ‘ए’ मा पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्ष स्थान कायम राखेको छ । लुम्बिनी प्रदेशलाई २५–१२, २५–८ र २५–२१ को सोझो सेटमा पराजित गर्दै पुलिसले थप ३ अंक जोडेको छ । यसअघि शुक्रबार पनि कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएर पुलिसले ३ अंक जोडेको थियो । पुलिस ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेश प्रदेश, दोस्रो खेल एपीएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलमा चार समूहमा ११ टिम सहभागी छन् ।
११ टिम सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।