
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेको हो ।
काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरे ।
पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा उनले १६ मिनेट ५० दशमलव २१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दै नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पारे ।
सोही स्पर्धामा एनआरएनका आशिष सापकोटा दोस्रो भए । उनी १६ मिनट ५७ दशमलव ९५ को समयमा दूरी पार गर्दै दोस्रो स्थानमा समेटिए । तेस्रो स्थान पुलिसका सुनिलकुमार थापा मगरले हासिल गरे भने उनले कास्यपदक प्राप्त गरे ।
यस्तै नेपाली सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहको नाममा रहेको दुई मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै दुई मिनेट ३१ दशमलव ४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।