एजेन्सी । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका रोयटर्सले लेखेको छ ।
उक्त विस्फोटमा परेका ५८ जनाको उद्धार गरिएको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए।
उद्धार गरिएका घाइतेहरुमध्ये १० जनाको बर्टिन र स्टानबुलमा उपचार भइरहेको छ । समाचारमा जनाइएअनुसार बाँकी घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।
विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन र अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन्।
टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरूबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताएका छन्।
सन् २०१४ मा पनि टर्कीको दक्षिणी सहर सोमामा भएको कोइलाखानी विस्फोटमा ३०१ जना मारिएका थिए।