जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

-


     मर्दी न्युज    
     असाेज ३० गते २०७९ मा प्रकाशित


काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरेँ । संस्कृति मन्त्रालयले प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’

जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ । यस अघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन । उनलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।