गौरिका सिंहलाई नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक

-


     मर्दी न्युज    
     असाेज ३० गते २०७९ मा प्रकाशित


पोखरा । त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डमा पार गरी १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

यस्तै ४ वटा स्वर्ण पदक जितिसकेकी एनआरएनएकी एस्ली सापकोटा डंगोलले रजत र आर्मीकी अनुषिया तन्डुकारले कास्य पदक जितेकी छिन् । एस्लीको समय १ मिनेट ८.७९ सेकेन्ड र अनुषियाको १ मिनेट १३.८ सेकेन्ड रहेको छ ।

गौरिका सम्मलित आर्मीको टोलीले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ । गौरिका, डुवाना लामा, अनुषिया तन्डुकार र उपास्ती महर्जनको समूहले ४ मिनेट १९.४५ सेकेन्डको समय निकालेको थियो । तिसा महर्जन, श्रेनु महर्जन, जारिया महर्जन र रोशा न्यौपाने रहेको बागमतीले रजत तथा मेगन गुरुङ, समिरा शोभा थापा मगर, आर्या महर्जन र अदिप्सा वैद्य रहेको नेपाल पुलिस क्लबले कास्य पदकमा चित्ता बुझाउनु पर्यो ।

आइतबार गौरिकाले ८ सय मिटर फ्रि स्टाइल तथा २ सय फ्रिस्टाइल छाडेकी थिइन् । यस्तै शनिबार १ मिटर फ्रि स्टाइलको फाइनल राउन्ड र २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन् ।