नवौँ राष्ट्रिय खेलकुदः सेना ९९ पदकसहित शीर्ष स्थानमा

-


     मर्दी न्युज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


पोखरा । पर्यटकीय राजधानी पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ ।

पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार साँझसम्म ४४ स्वर्ण पदकसहित नेपाली सेनाले अग्रता बनाएको हो । सेनाले ३१ रजत र २४ कास्यसहित ९९ पदक जितेको छ ।

यसैगरी विभागीय टोली नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १९ कास्यपदकसहित ४९ पदक जितेर द्वितीय स्थानमा रहेको छ । अर्का विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १४ स्वर्ण, २० रजत र २५ कास्यसहित ५९ पदक जितेर पुलिसलाई पछ्याइरहेको छ ।

यस्तै बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्यसहित ४५ पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, छ रजत र १६ कास्य गरी ३० पदक हात पारेको छ । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए)ले चार स्वर्ण, तीन रजत र चार कास्यसहित ११ पदक जितेको छ ।

यसैगरी प्रदेश नं १ ले दुई स्वर्ण, ६ रजत र १६ कास्यसहित २४ पदक जितेका छन् भने मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र ७ कास्यसहित ११ पदक जितेका छन् । लुम्बिनी प्रदेशले एक स्वर्ण, ७ रजत र ८ कास्य पदक जित्दा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र १० कास्यसहित १२ पदक जितेका छन् । यस्तै कर्णाली प्रदेशले एक स्वर्णपदक र २ कास्यसहित तीन पदक मात्र जितेर पदक तालिकाको पुछारमा छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।