
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा साविक विजेता पुलिसलाई हराउँदै आर्मीले जितेको हो ।
आज भएको खेलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ मा खेल्दै आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय गरेको हो ।
यस्तै घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई जित्न सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो ।
अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानको लागि भोलि विहीवार पुलिस र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।