पुरुष फुटबलमा आर्मीलाई पराजित गर्दै एपिएफलाई स्वर्ण

-


     मर्दी न्युज    
     ३ कार्तिक २०७९ मा प्रकाशित


पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा सञ्चालन भएको पुरुष फुटबलको स्वर्णपदक विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

निर्धारित ९० मिनेटको अत्यन्त प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर ४÷४ को बराबरीमा पुग्दा ‘सडन डेथ’मा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।

‘सडन डेथ’मा एपिएफका विश्वास उदासले निर्णायक गोल गर्दै टोलीलाई स्वर्ण दिलाए । आर्मीका सुमन अर्यालको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले रोक्दा सेनाले रजत पदकमा चित्त बुझाउन विवश बन्यो ।

तस्बिर: आनन्द बराल

पेनाल्टी सुटआउटमा एपिएफका लागि नवीन लामा, आवास लामिछाने, सुदील सिर्खाकार, गोलरक्षक राजु नगरकोटी र रितेश धिमाल गोल गर्दा सनिस श्रेष्ठको प्रहार बाहिरिएको थियो । यसैगरी आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा र विवेक बस्नेतले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङ्देम्बेको प्रहार एएिफका गोल किपर नगरकोटीले उत्कृष्ट बचाउ गरे ।

प्रतियोगिताको आयोजक गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा तृतीय हुँदै कास्यपदक पायो । राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा प्रतियोगिताका ११ वटै टोलीले सहभागिता जनाएका थिए ।