आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

-


     मर्दी न्युज    
     ३ कार्तिक २०७९ मा प्रकाशित


पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएका ३६ खेलहरूमा आर्मीले स्वर्ण १७२, रजत ११० र ८९ कास्य गरी ३७१ पदक जितेर च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियन बनेको आर्मीलाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गरेका थिए । उनले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरूलाई सो ट्रफी हस्तान्तरण गरेको हो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको बिजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो ।

यसैगरी गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कास्यसहित २१९ पदक जितेर द्वितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरू मध्येमा पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित १२० पदक समग्रमा चौथो भएको छ ।

तस्बिरहरु: मनशान्त घिमिरे

बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौँ भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्य सदकसहित ६३ पदक जित्न सफल भयो ।

एनआरएनएले १० स्वर्ण नौ रजत र सात कास्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य सहित १८ पदक जितेको छ ।