बैंकको साँवा र व्याज तिर्न सक्दैन, व्याज एक अंकमा झार्न होटल व्यवसायीहरुको माग

-


     मर्दी न्युज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित


पोखरा । पोखराका होटल व्यवसायीहरुले बैंकले एकतर्फी बढाएको चर्को व्याजदर तत्काल तिर्न नसक्ने भन्दै कर्जा तिर्ने म्याद थप गर्न माग गरेका छन् । होटलहरुको छाता संगठन होटल संघ पोखरा, नेपालले कोभिडका कारण व्यवसाय पुरानो अवस्था फर्किन नसकेको भन्दै कर्जा तिर्ने समय पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको हो ।

शुक्रवार पोखरामा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक वर्षमा मिलान गर्ने व्यवस्थापका लागि माग गर्दै कर्जा पुनर्तालिकीकरण गर्न तथा कर्जाको व्याजदर एक अंकमा झार्न समेत माग गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु अहिलेको अवस्थामा सावाँ तथा व्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट कुनै ठोस कदम नचालिँदा अन्यौलको अवस्था सृजना भएको बताउँदै यही अवस्था रहे होटल संघ चरणबद्ध रुपमा आन्दोन गर्न बाध्य हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा व्याज तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो दायित्वलाई आउँदो आर्थिक वर्षमा मिलान गर्ने व्यवस्थाका लागि राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग यसअघि पनि बारम्बार अनुरोध गरेको बताउँदै संघद्वारा वितरित विज्ञप्तिमा भनेको छ, “अतः बैंक तथा वित्तीय संस्थाले मनोमानी रुपमा लागू गरेको चर्को व्याजदरलाई एक अंकमा झार्न, कर्जाको साँवा र व्याजको दायित्वलाई अर्को वर्षमा तिर्ने व्यवस्थाका लागि यस संघ नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय एवम् नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

संघले खर्बौं रुपैयाँको लगानी भएको होटल र पर्यटन क्षेत्रलाई जोगाउने गरी तत्काल कुनै निर्णय नलिइएमा देशभरका होटल व्यवसायीहरु चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताएको छ । उनले व्यवसायीहरु अहिले संयमित भएर बसिरहेको जनाउँदै सम्बन्धित निकायले कुनै सुनुवाई नगरे धैर्यको बाँध टुट्ने बताउँदै त्यो भयानक हुने बताए ।

संघका अध्यक्ष सुवेदीले भने, “हामी साझा संगठनमार्फत सरकारलाई अनुरोध गरिरहेका छौं, हामी संयमित भएर बसेका छौं, हाम्रो धैर्यको बाँध टुट्यो भने त्यो ज्यादै भयानक हुनेछ, आर्थिक पीडा भयांकर हुनेछ, आन्दोलनको अवस्था आउन नपरोस् भन्ने हामी चाहान्छौं ।”

सन् २०१८ मा १२ लाख पर्यटक भित्रिएको नेपालमा कोभिडपछि सन् २०२२ को सेप्टेम्बरसम्म आइपुग्दा ३ लाख पर्यटक मात्र भित्रिएको सरकारी तथ्यांकले पनि पर्यटन क्षेत्र तङ्ग्रीन अझै समय लाग्ने पनि उनले बताए ।