
पोखरा । क्याप्टेन विजय लामाले नेपाल सरकारले एकाध विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका छन् । सोमबार पोखराको लेकसाइडमा बिजी बी कोरियन रेष्टुरेन्टको उद्घाटन गर्दै उनले एकाध विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका हुन् ।
पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकदु प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटना दुःखद भएपनि यसै विषयलाई लिएर अन्य व्यवसायीको व्यवसाय नै बन्द गराउनु उचित नभएको उनको भनाइ थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाडिङ खेलको क्रममा त्रिभुवन आर्मी क्लबका निसिम थापाको ज्यान गएपछि सरकारले प्याराग्लाडिङ उडानमा केही दिन रोकेका थिए ।
‘कहिलेकाहीँ दुर्घटना हुन्छ, कहाँ हुन्छ कसैलाई थाहा हुन्न, यसलाई रोक्न सक्दैन, न सरकारले सक्छ न व्यवसायीले नै, उनले भने, ‘विमान दुर्घटना भयो भन्दैमा सबै उडान बन्द गर्ने ? त्यसैले कुनै विषयलाई कारण देखाएर त्यो व्यवसाय बन्द गर्नु उचित होइन ।’
क्याप्टेन लामाले पोखरा पर्यटनको हिसाबमा उत्कृष्ट गन्तव्यमा पर्ने बताउँदै पोखराको सौन्दर्यलाई कायम राख्दै यसको विकास र प्रचारप्रसारमा स्थानीय तहदेखि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे । ‘पोखरा पर्यटकको रोजाईमा उत्कृष्ट गन्तव्यमा पर्छ, उत्कृष्ट दश स्थानलाई हेरेर मूल्याङ्ककन गर्ने हो भने पोखरा उत्कृष्ट पाँचमा पर्छ, जहाँ ताल, हरियालीदेखि पहाड र हिमालहरु छन् । पर्यटकको रोजाईका विभिन्न ठाउँहरु पोखरा र आसपासमै छन् त्यसैले उत्कृष्ट गन्तव्यमा पोखरा टप ५ मा पर्छ ।’ क्याप्टेन लामाले भने ।
पोखरा पर्यटकको रोजाईमा उत्कष्ट हुँदा हुँदैपनि उचित पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसमा राज्यले ध्यान दिन आग्रह गरे । पर्यटकलाई पोखरासँगै मनाङ, मुस्ताङ लगायतका जिल्लामा जोड्न पूर्वाधारको अभाव भएको बताउँदै सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । प्राकृतिक स्टुडियोको रुपमा रहेको मनाङ मुस्ताङ सडक अवस्थाकै कारण आउजाउ गर्न पर्यटकलाई विचल्ली हुनु परेको अवस्थाको उदाहरण दिंदै राज्यले यसतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले राज्यले व्यवसायीको पीरमर्का बुझ्नको सट्टा व्यवसायीलाई थिचोमिचो गरिरहेको बताए । वित्तीय संस्थाले एकतर्फ रुपमा बढाएको चर्को व्याजका कारण व्यवसायी धरासायी भएको बताउँदै सरकारले वेवास्ता गरेमा निकट भविष्यमा आन्दोलनको तयारीमा रहेको जनाए ।
यस्तै पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, वर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले लामो समय कोरोनाले थलिएको व्यवसायीलाई राज्यले राहात दिनुको सट्टा आहात बनाएको आरोप लगाएका थिए । पर्यटन पूर्वधार निर्माणमा सरकार उदासिन रहेको उनीहरुको आरोप थियो ।
२०४५ सालमा बिम बिम रेष्टुरेण्टबाट सुरुवात गरेका ज्याक तामाङले केही वर्ष पछि नाम परिवर्तन गरी बिजी बि क्याफे बनाइ तत्पश्चात उक्त क्याफेलाई प्रा. लि. मा परिणत गरी संचालन गर्दै आएको छ ।
बिजी बि क्याफेले स्थापनाकाल देखिनै खानामा उत्कृष्ट सेवा दिदै आइरहेको छ । यस्तै सन् २०१९ देखि पोखरा लेकसाइडमा स्विमीङपुल, गार्डेन, इन्डोर रेष्टुरेण्ट, स्पा सहित ३७ रुमको बिजि बि रिसोर्ट सञ्चालनमा छ । यसै सन्दर्भमा बिजी बि कोरियन खाना पारखीको लागि तेस्रो प्रस्तुतीको रुपमा पोखरा लेकसाइडको १५ नम्बर स्ट्रिटमा नै बिजि बि कोरियन रेष्टुरेण्टको शुभारम्भ गरेको सञ्चालक तामाङले बताए । निकट भविष्यमा काठमाण्डौंको ठमेलमा बिजि बि क्याफे शुभारम्भ गर्न लगेको पनि सञ्चालक तामाङले जानकारी दिए ।
नेपाली स्वादसँग मिल्ने कोरियन खाना शाकाहारी तथा मांसहारी सबैको लागि मिल्ने ८ प्रकारको साइड डिस बाहेक ४५ प्रकारका कोरियन खाना उपलब्ध हुने जनाइएको छ । खाना खाने स्थान रोज्नको लागि मूल डाइनिङ वा गार्डेन तथा स्विमिङ पुलको किनार प्रयोग गर्न सकिने र आफूले नै प्रत्यक्ष डाइनिङ टेबलमा खाना बनाएर खान सकिने व्यवस्था रहेको पनि उनले जनाए । खानाको साथ कोरियन पोशाकमा आफूलाई सजाई फोटोमा कैद गर्न ईच्छा भएकाहरुलाई कोरियाबाट नै झिकाइएको पोशाकहरु पनि उपलब्ध हुनेछ ।