
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मङ्गलवार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् ।
‘म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु । सम्पुर्ण नेपाली मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु’ उनले लेखेकी छन्, ‘नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु।’
नेपालमा रहँदा आफूप्रति देखाएको माया र सद्भावको लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।
यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।