कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७९ मा प्रकाशित


काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

प्रशासनलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विस्फोटक वस्तु पड्किँदा गम्भीर घाइते भएकाहरू बच्चा बच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाँणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।