
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका छन्।
विगतका चुनावमा मतपत्र च्यात्नेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो। ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्यो। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि हामी अवलम्बन गर्छौँ।’ उनले भने । मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएकाले त्यस्तो दुरावस्थाबाट सबै माथि उठ्न उनको आग्रह थियो ।
मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ।
उनले मतगणना स्थलमा सिसी क्यामेरा जडानका लागि आयोगसँग बजेट नभएको बताए। १६५ वटा निर्वाचन क्षेत्रको मतगणना गर्ने स्थानहरूमा सम्बन्धित स्थानीय तहकै समन्वयमा त्यहाँ नै उपलब्ध सिसी टिभी जडान गर्ने व्यवस्था मिलाइने उनले बताए।
‘अघिल्लो निर्वाचनमा सिसी टिभीको मात्र होइन, तारजालीको पनि व्यवस्था गर्ने भन्ने विषय उठेछ,’ उनले भने, ‘हामीले सिधा भनेका छौँ, फलामले फलामलाई नै काट्छ भनेजस्तो यो मुलुकमा कोही जाली नै छैन, किन जाली लगाइरहनुपर्यो। ?’
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक १७ गतेदेखि निर्वाचन प्रचारप्रसारको अर्को चरण शुरु हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ ले राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।
यस अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोहीबमोजिम राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरिएको छ ।