
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका छन् ।
सोमबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।
‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्ता मार्फत भूमि फिर्ता ल्याउँछौं ।’
उनले गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए । गठबन्धन सरकार दक्षिणपन्छी दिशामा हिँडेको बताउँदै आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।
‘विचार नभएका नीति नभएका गठबन्धनले होइन लोकतान्त्रि मूल्यमान्यताका लागि एमालेले बहुमत प्राप्त गर्नुपर्छ’ उनले भने, ‘हामीहरुले यो देशलाई प्रगतिको बाटोमा लगेका थियो । गठबन्धनका नाइकेहरुले यो देशलाई दक्षिणपन्छी दिशामा लगें, यसर्थ लोकतन्त्र रक्षाका लागि एमालेले जित्नुपर्छ ।’