
पोखरा । गण्डकीका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हटाएको छ । मुख्यमन्त्री नेपालीले उनलाई आज मंगलबार नै पदबाट बर्खास्त गरिएको हो ।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष पत्र पठाएर बर्खास्त गरेको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीपरिषद हेरफेर भएको सूचना चण्डीप्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।
आचार्य २०७८ जेठ २९ मा विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।
