
काठमाडौं । पाहुना टोली युएईसँग नेपाल ८४ रनले पराजित भएको छ। सोमवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा नेपाल ८४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए।
यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे। त्यस्तै गुल्सन झाले १९ रनको अविजित इनिङ खेल्दा उनी बाहेक थप दोहोरो रनको स्कोरका रूपमा आसिफ शेखले १२ रन बनाए।
कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्ल शून्य रनमा पेभिलियन फर्किदा कप्तान रोहित पौडेलले १ रन बनाए। त्यस्तै हरिशंकर साहले ८ रन बनाउँदा कुशल भुर्तेलले ६ रन तथा सोमपाल कामीले ३ रन बनाए। त्यस्तै ललित राजवंशी ६ रनमा अविजित रहे।
त्यसअघि टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो। युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाउँदा ओपनरहरू मुहम्मद वासिमले ४० र भ्रित्या अरविन्दले ४० रन बनाए।
उनीहरूले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। त्यस्तै, अलिसान सर्फुले २९ रन बनाउँदा आयान अफ्जाल खान २६ रन बनाए।
त्यस्तै, अहम्मेद रजले २७ रन बनाउँदा बसिद हमिद १४ रनमा आउट भए। नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट हात पारे।