
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे स्थिर समय सुरु भएको छ ।
निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन।
मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे स्थिर समय सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी गर्न नपाइने जानकारी दिए । ‘कुनै पनि माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न पाइँदैन’, उनले भने, ‘मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री पूर्ण रूपमा हटाउनुपर्छ।
आयोगले उम्मेदवार, दल, भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताएको छ। यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत लाइक र कमेन्ट गर्न समेत पाइँदैन।
आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाका वेला शान्ति कायम राख्न मतदानको समयभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।
आयोगले मदिरा निषेध गराउने कामको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिएको छ।