देशभरका मतगणना स्थलमा तारजाली

-


     मर्दी न्युज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित


काठमाडौँ । निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजाली नहुने बताए पनि सुरक्षा निकायले भने सबै मतगणनास्थलमा तारजाली लगाएको छ ।

गणनाका क्रममा मतपत्र च्यात्ने जोखिम आकलन गरी देशैभरका मतगणनास्थल तारजालीले घेरिएको हो ।

‘निर्वाचन आयोगले मतगणनामा तारजाली नलगाउने प्रस्ताव राखे पनि जोखिम लिन सक्दैनौँ, कसैले मतपत्र च्यातेमा त्यसको जिम्मेवार हामी नै हुनुपर्छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘त्यसकारण सबैजसो मतगणनास्थलमा तारजाली लगाइएको छ ।’

विगतमा मतगणनामा बसेका प्रनिनिधिबाटै मतपत्र च्यात्ने घटना भएकाले त्यसयताका निर्वाचनमा तारजाली लगाउन थालिएको छ ।

तीन साताअघि आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणनास्थलमा यसपटक तारजाली प्रयोग नगरिने बताएका थिए । तर, सुरक्षा ब्रिफिङपछि आयोग तारजाली प्रयोगमा सहमत भएको छ ।

मतगणनास्थलमा सिसिक्यामेरासमेत जडान गरिएको छ । मतगणनास्थल आसपास गणना नसकिएसम्म मदिरा बेच्नसमेत रोक लगाइएको छ ।

उच्च हिमाली तथा दुर्गम क्षेत्रमा रहेका मतदानस्थलबाट मतपेटिका हेलिकोप्टरमा ओसारिने भएको छ । शनिबारसम्मको विवरणअनुसार ६३ मतदानस्थलबाट मतपेटिका हेलिकोप्टरमा जिल्ला सदरमुकाम ओसार्ने तय भएको छ ।

कर्णालीका धेरैजसो जिल्लामा मतपेटिका ओसार्न हेलिकोप्टरको माग भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन थालेकाले सडक मार्ग अवरुद्ध भएपछि हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्न लागिएको हो ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, बझाङलगायत जिल्लाका दुर्गम मतदानस्थलबाट हेलिकोप्टरमा मतपेटिका ढुवानी गरिनेछ ।

सिन्धुपाल्चोक र सप्तरीबाट पनि गृह मन्त्रालयमा होलिकोप्टरको माग भएको छ । तर, गृहले भने त्यहाँ हेलिकोप्टर उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । सप्तरीको गोबरगाडा मतदानस्थलबाट कोसी नदीको भँगालो पार गरेर मतपेटिका ओसार्नुपर्ने भएकाले हेलिकोप्टर माग भएको हो । पर्याप्त हेलिकोप्टर नभएकाले सोमबार ढुवानी गर्न गृहले निर्देशन दिएको छ ।

निर्वाचनमा सेनाका साथै निजी हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको छ । इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टर केही दिनयता तयारी अवस्थामा तैनाथ गरिएको छ ।