कास्की क्षेत्र नं २ मा मतगणना सुरु

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ ।

क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ ।

प्रतिनिधि सभामा स्वतन्त्र पार्टीकाे अग्रता

पोखरा १५ वडा नम्बरबाट कोलपाटनको मतपेटिकाबाट गणनामा प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता छ ।

उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।