
काठमाडौँ । मधेसी आयोगले मधेसी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले आज आइतबार विज्ञप्ति निकालेर मधेसी समुदायलाई लक्षित गरी प्रयोग गरिने ‘काले, मदिसे, भैया, धोती’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेसी आयोगले चेतावनी दिएको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सिफारिससमेत गरिरहेको बताएको छ । आयोगले यस्ता घटनाको उजुरी आयोगमा विभिन्न माध्यमबाट दिन पनि अनुरोध गरेको छ ।