
पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको गठबन्धन चल्नै नसकेर आगामी दुई वर्षमै निर्वाचन घोषण गर्ने अवस्था आउन सक्ने पोखरेलले बताए । मंगलबार पोखरामा भएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले गठबन्धन हिजो पनि समस्या रहेको र आज पनि समस्या भएकाले पूरा कार्यकाल जान नसकिने बताएको हो ।
‘अहिलेको जनादेश पछाडि मुलुकको भविष्य के होला भन्नेबारेमा छलफल चलिरहेको बेलामा हामीले कुनै स्पष्ट चित्र देखिरहेका छैनौँ।’ महासचिव पोखरलले भने, ‘हाम्रो पार्टीले स्वभाविक रूपमा जनादेश सरकार गठनका लागि प्राप्त नभएको अवस्थामा पर्ख र हेरको नीति लिनु उपयुक्त हुन्छ भन्ने ठानेको छ।’
‘गठबन्धनले यो मुलुकको नेतृत्व गर्न सक्दैन भनेर जनताका बीचमा सन्देश सम्प्रेषण गरिरहन्छौँ। गठबन्धन हिजो पनि समस्या थियो आज पनि समस्या हो।’ उनले भने, ’जतिबेलासम्म गठबन्धन रहिरहन्छ मुलुकले सही प्रकारको निकास प्राप्त गर्न सक्दैन भन्ने हाम्रो मान्यतालाई निरन्तर रूपमा उठाइरहन्छौँ।’
बलियो राष्ट्रिय शक्ति विकास र संवृद्धिका लागि अपरिहार्य रहेको मान्यता लिएर एमाले जनताको माझ जाने उनको भनाइ छ।
अबको संसदीय गतिविधिले नेकपा एमालेको आवश्यकता पुष्टि गर्ने महासचिव पोखरेलको दाबी छ। सरकार गठनका लागि पर्ख र हेरको नीति एमालेले लिएको बताएका छन्। एमालेले सरकार गठनका लागि कुनै पहलकदमी नचालेको उनले स्पष्ट पारे।